नियम २७
रजिष्ट्रेशन (दर्ता) गर्दा पालन गर्नु पर्ने कुरा

(१) हुलाक वस्तु रजिष्ट्री गर्दा यस वस्तुमा लाग्ने महसुल रजिष्ट्री वापत लाग्ने थप दस्तुरको अग्रिम भुक्तानी टिकटद्वारा हुनु पर्दछ । कुनै हुलाक वस्तु महानिर्देशकले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको हुलाक अड्डामा रजिष्ट्री गराई आन्तरिक हुलाक वा विश्वको जुनसुकै मुलुकमा डेलिभरी हुनेगरी पठाउन सकिनेछ ।
(२) रजिष्ट्री गराउन नेपाल राजपत्रमा समय समयमा प्रकाशित गरिएको हुलाकको काउण्टरमा हुलाक वस्तु पेश गर्नु पर्छ । धेरै टिकटहरू टाँसी लाहा छापहरू लगाई वा अन्य कुराहरू लेखी हुलाक अड्डाबाट टाँसिने लेवुल वा अरू चिन्ह लगाउनको लागि पर्याप्त ठाउँ नभएको हुलाक वस्तुको रजिष्ट्री गरिने छैन । रजिष्ट्री वस्तुको अगाडिको भाग माथि रजिष्ट्री भनी लेखेको हुनु पर्छ ।
(३) प्रेषक तथा ठेगानावालाको ठेगाना पूरा र प्रष्ट नलेखेको कुनै हुलाक वस्तु रजिष्ट्री हुन सक्ने छैन ।
(४) क्षेत्रीय हुलाक निर्देशकले तोकिदिएको रजिष्ट्री गर्ने समय भित्र हुलाक अड्डाको काउण्टरमा रजिष्ट्री गर्न ल्याउने व्यक्तिलाई प्रत्येक वस्तुको अलग अलग भरपाई (रसिद) दिइनेछ ।
(५) कुनै रजिष्ट्री वस्तु ठेगानावाला वा ठेगानावालाबाट अधिकृत व्यक्तिले भरपाई (रसिद) मा पूरा र प्रष्ट बुझिनेगरी सहीछाप नगरेसम्म डेलिभरी गरिने छैन ।